Thursday, April 18, 2024

आकाशे पानीको भर पर्दा खेत बाँझै

कञ्चनपुर– कञ्चनपुर बेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् ।

सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाँझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्दा घाम लागेपछि निराश भएर फर्किनु दैनिकी बनेको छ”, जोशीले भने– “वर्षात नहुँदा बेर्ना पनि सुक्न थालिसक्यो ।”

असार महीना सकिन लाग्दा पनि यहाँ वर्षा नभएपछि आकाशे पानीको भरमा खेती गर्ने किसान निराश हुन थालेका छन् । बोरिङबाट रोपाइँ गरिरहेका बेदकोट नगरपालिका–२ देवदत्त जोशी पनि सिँचाइ नहुँदा समस्या भएको बताउँछन् ।

विसं २०६८ मा सिँचाइका लागि भन्दै भूमिगत जलस्रोत विकास समिति धनगढीले तीन वटा ट्युवेल निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । ६० बिघा खेतलाई सिँचाइ गर्ने लक्ष्य लिएको भए पनि वर्षांैसम्म सञ्चालनमा नआउँदा लगानी पनि खेर गएको जोशीको भनाइ छ ।

उनले भूमिगत जलस्रोत विकास समितिले यहाँका किसानबाट धरौटी भन्दै रु ५८ हजार सङ्कलन गरेको भए पनि त्यसको लेखाजोखा नभएको बताए । “स्थानीय तहदेखि हेलो प्रधानमन्त्री हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार माग्दा पनि सुनुवाइ भएको छैन्”, जोशीले भने, “सिँचाइ नहुँदा यहाँ खेतको बेर्ना काम नलाग्ने भइसक्यो । ”

स्थानीयवासी इन्द्रवती जोशीले सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुको विकल्प नभएकोे बताए । “ यस्तै रहे खेत बाँझैँ राखेर चामल किन्नुपर्ने अवस्था आउँला जस्तो भयो”, उनले भने, “गाँउ छेउछाउका खोला नदीको पानी पनि सुकिसकेको छ । ”

भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख अमरबहादुर चन्दले नौ वटा ड्युप ट्युवेलमध्ये ६ वटा सञ्चालनमा रहेको दाबी गरे । उहाँले दुई वटा सफल हुन नसकेको र एउटा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिनुभयो । ट्युवेल बिग्रेको भए पनि किसानको आग्रह अनुसार त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताए।

तर किसानले पटक–पटक ताकेता गर्दा कुनै सुनुवाइ नभएको दुःखेसो पोखेका छन् । सिँचाइ अभावका कारण यहाँ अहिलेसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

कञ्चनपुरमा सिँचाइका लागि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण जारी छ । ३३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिएको आयोजनाको काम भने सुस्तगतिमा छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूलनहर निर्माण गर्ने भनिए पनि एक दशकको अवधिमा १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार