किन घट्दैछ टेंग्रा खोलामा पानीको तह ?

    इटहरी– टेंग्रा खोलाको पानी विस्तारै सुक्न थालेपछि स्थानीयहरु चिन्तीत भएका छन् ।

    पानीको तह मापन गरिएका कुनै सरकारी वा प्राविधिक तथ्यांकहरु उपलब्ध नभएपनि पानीको तहलाई विगतदेखि वर्तमानसम्म नजिकबाट नियालीरहेका स्थानीय खोलाको पानी विस्तारै सुक्दै गएको वताउँछन् ।

    इटहरी–३ तामाङ टोलका युवा पदम तामाङ (१९) सँग टेंग्राको मुहानलाई सानैदेखि नियालेको अनुभव छ । बाल्यकालदेखि नुहाउदै आएको सो खोलामा अहिले पनि तामाङ बेलाबेलामा नुहाउँछन ।

    तामाङ नुहाउने इटहरी– ३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा पर्ने टेंग्रा मुहानको पानीमा कुनै फरक छैन । पानी कञ्चन छ, वरिपरि जङ्गल पनि तर पानीको मात्रा भने निरन्तर घट्दो छ ।

    ‘टेंग्रा मुहानमा कति पानी घट्यो यकिन छैन तर पहिला ज्यादै धेरै पानी थियो’, टेंग्रा मुहान क्षेत्रमा एक्लै टहलिदै गर्दा भेटिएका तामाङले बाल्यकाल सम्झँदै भने, ‘पहिले–पहिले हामी यहाँ डिलबाट उफ्रेर पौडी खेल्दा पुरै डुब्थ्यौ । दाइहरूको पनि कम्बर कम्बर पानी हुन्थ्यो तर अहिले पानी घुँडामुनि छ ।’

    आफू ५–६ वर्ष हुँदा हिउँदमा पनि डिलडिल देखिने पानी क्रमशः घट्दै गएको उनले वताए । वरपरका बिरुवाहरू मासिँदै गएको र पानी पनि घट्दै गएको उनको अनुभव छ ।

    ‘पहिले म उभिएको डिलैसम्म यो मुहानको पानी हुन्थ्यो’, टेंग्रा मुहान क्षेत्रको एक किनारमा उभिएर तामाङ भन्छन, ‘तर अहिले यो डिलमा त पानी छैन छैन, डिलमुनि पनि छिपछिपे मात्रै छ ।’

    ७६ दशमलव ४५ हेक्टर क्षेत्रमा फैलिएको तालतलैयामा विभिन्न ६ वटा पोखरीहरू छन् । त्यही पोखरीमा उम्रने पानीले टेंग्रा खोलाको रूप लिन्छ । खोला इटहरीको बजार क्षेत्रमा वडा नम्बर २, ३, ४ र ६ हुँदै बग्छ । सिंचाइ, नुहाउने प्रयोजन, पौडी खेल्न तथा माछा मार्नको लागि सो नदीको उपयोग हुँदै आएको छ ।

    खोलाको किनार पनि विगतमा फराकिलो भएको इटहरीका रैथानेहरू बताउँछन । इटहरीका रैथाने तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राम धामीले खोलाले सुरुमा बगर गुमाएको र पछिल्ला दशकमा पानीको मात्रा पनि घट्दै गएको बताए ।

    ‘२०५० साल अगाडिसम्म पनि इटहरीको टेंग्रा खोलाको सिरदेखि तलसम्म जहापनि पौडी खेल्न, माछा मार्न र नुहाउन मिल्ने अवस्था थियो पानी पनि स्वच्छ र धेरै थियो’, टेंग्रा खोलाले इहटरीको बस्ती विकास र कृषि कर्म जोगाएको सभ्यता बचाउने अभियानमा लागेका धामी भन्छन,‘तर अहिले टेंग्रामा पानी बग्दैन ढल बग्छ ।’

    इटहरीको तालतलैया क्षेत्र भएर उम्रने र इटहरीको बजार क्षेत्र हुँदै बग्ने टेंग्राको पानी कम हुनुको कारण मानवीय अतिक्रमण भएको स्थानीयको भनाइ छ । धामी टेंग्रामा मुहान र पानी बगेको आसपासको क्षेत्रमा बनेका विभिन्न कंक्रिट संरचनाले गर्दा नै पानी घटेको बताँउछन् ।

    धामीको तर्कमा सहमत छन्् वातावरण इन्जिनियर भूषण तुलाधर । उनका अनुसार आकाशबाट परेको पानी पृथ्वीबाट भित्र छिरेपछि त्यही पानी विभिन्न मुहानबाट निस्कन्छन् । तुलाधर भन्छन, ‘कंक्रिट संरचना अत्यधिक भयो भने पानीभित्र पस्न नपाउने मात्रै हैन वर्षाको पानी भित्र पस्न नपाएर बाढीको स्वरूप लिन्छ ।’

    विज्ञहरुका अनुसार खोलाको मुहान जोगाउन बिरुवाहरूले सहयोग गर्न सक्छन् । नेपाल कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको हेटौडाको वन विभागका सहप्राध्यापक प्रमोद घिमिरेका अनुसार पानी मैत्री बिरुवाहरू लाएमा पानीको सहत बढ्ने आधार हुन्छ ।

    हाल टेंग्रा मुहान क्षेत्रमा कंक्रिट संरचनासँगै पानीको सतह घटाउने टिकका रुखहरू भएको अवस्थामा बिरुवाहरू लगाएरै पानीको सतह बढाउन सक्ने घिमिरे बताँउछन । ‘कतिपय बिरुवाहरू पानी बढाउने हुन्छन् कतिपय हुँदैनन तर तराईको इटहरी क्षेत्रमा विभिन्न पानी बढाउने बिरुवाहरू लगाएमा पानीको सहत बढाउन सहयोग हुन्छ’, घिमिरे भन्छन, ‘बाँस, सिमल, साल, सिसौ, वर र पिपल लगाएको अवस्थामा पानी बढ्न सक्छ ।’ यी बिरुवाहरूले पानी सोसेर संरक्षण गर्ने र मुहानलाई चाहिने पानी दिने घिमिरे बताउँछन ।

    कंक्रिट संरचनाहरूको न्यून वा शून्य निर्माण र पानीको सतह बढाउन सघाउ पु‍र्याउने विभिन्न बिरुवाहरू लगाएमा पानीको मात्रा बढाउने आधारहरू बढ्ने घिमिरे बताँउछन ।

    Facebook Comments