यसरी बिलाउँदैछ फेवाताल सन् १९९३ देखि २०१८ सम्मका तस्बिरहरु सहित

पोखरा– २०७२ साउन १३ गते मध्यरात पोखरा र आसपासका क्षेत्रमा भीषण वर्षा भयो । वर्षाका कारण फेवाताल सिरानपञ्चासे आसपास सहित लुम्लेमा ठूलो पहिरो गयो ।

मध्यरातको त्यो बाढीपहिरो मानवीय क्षतिमा मात्र सिमित रहेन् । ढुंगा, माटो, गिट्टीसहितको गेग्रानले फेवाताल नै कुरुप भयो । वर्षापछिको पहिरोले बगाएर ल्याएको ढुंगामाटो र रुखका मुढाले तालको सिरान क्षेत्र हिलाम्य बन्यो । ताल सिरानको कास्कीकोट, भदौरेतामागी र ढिकुरपोखरीमा आएकोे पहिरोले बगाएको गेग्रान र ठूला रुखले ताल पुरियो । पञ्चासे क्षेत्रबाट बगाएर ल्याएको सबै भेल तालमा मिसिएको थियो ।

पहिरोले बगाएर ल्याएको गेग्रान माथिल्लो भेगमा थुप्रियो भने काठका मुढा बग्दै तालपुछार ड्यासाइटसम्म पुगे । एक महिनासम्म तालको पानी पँहेलो बन्यो । जिल्ला वन कार्यालयका अनुसार त्यतिवेला तारेपहरो सामुदायिक वनको करिब ३५ हेक्टर क्षेत्रफल बगेर तालमा मिसिएको थियो ।


त्यसबाहेक आसपासका खहरेबाट थपिएको बाढीको त कुनै लेखाजोखा नै थिएन् । तालमा मिसिएको काठका मुढा नाकाबन्दीको बेला इन्धन अभाव भएको मौका पारेर स्थानीयले तालबाट झिकेर बेच्न समेत भ्याएका थिए ।

मानवीय अतिक्रमण बाहेक फेवाताल खुम्चिँदै जानुको मूल कारण तालको मुख्य श्रोत हर्पन खोला हुँदै बगेर आउने लेदोमाटो, ढुंगा र गिट्टी हो । पोखरा लेखनाथ महानगरपालिकाका एक प्राविधिकका अनुसार हरेक वर्ष पञ्चासे क्षेत्रबाट बग्दै आएकोढुंगा, गिट्टी, लेदो, मुढा हर्पन खोलामा मिसिन्छन अनि सिधै तालमा पुग्छ ।महानगरको फेवाताल इकाइका इन्जिनियर महेन्द्रबहादुर गोदारका अनुसार नेपाल सरकार र फिनल्याण्ड सहयोग नियोगले १९९२ मा गरेको एक अध्ययनले फेवातालको जलाधार क्षेत्रमा रहेका हर्पन लगायत खहरे खोलाबाट बगेर आउने गिटी, बालुवा, ढुंगा माटोले ताल पुर्दै गएकोले ताल जोखिममा रहेको औल्याएको थियो ।

सोही प्रतिवेदनका अनुसार वर्षेनी करिब १ लाख ४२ हजार मेट्रिक टन गेग्रान फेवातालमा मिसिने गरेको कारण हरेक वर्ष झन्डै १ हेक्टर क्षेत्रफलमा नयाँ जमिन बन्ने गरेको छ । जस अनुसार तालको आयु ७५ वर्षदेखि १ सय वर्षमात्र हुन्छ ।‘वर्षमा झन्डै एकहेक्टर क्षेत्रफल त शिरानबाट बगेर आएको गेग्रानले नै पुर्छ भने मानवीय भन्दा पनि प्राकृतिक अतिक्रमण डरलाग्दो छ,’ गोदार भन्छन, ‘फोहोरमैला र ढल मिसाउने कार्यले तालमा प्रदुषण बढाएको छ र वर्षेनी बग्दै आएको लेदोले तालको क्षेत्रफल घटिरहेको छ ।’

उनका अनुसार ताल पुरिनुमा सिरान क्षेत्रको पहिरो र बाढीमात्र कारक होइन । पामे, पञ्चासे लगायतका क्षेत्रमा खनिएको बाटोको माटो पनि बगेर त्यही तालमा मिसिन्छ । यसले गर्दा ताल झन पुरिएको छ । ‘तालको अवस्था चिन्ताजनक बन्दै गएको छ । यस्तै अवस्था रहे ताल धेरै वर्ष बच्दैन,’ उनले भने ।

गोदारका अनुसार तालको सिरान क्षेत्रबाट बगेर आउने गेग्रान रोक्नका लागि ठाउँठाउँमा चेकड्याम बनाउने तयारी भएको वर्षाै बितिसक्यो तर त्यसले अझै मूर्त रुप पाएको छैन । क्षेत्रीय वन कार्यालयले ६ वर्ष अघि सिरान क्षेत्र अध्ययन गरेर तीनठाउँमा चेकड्याम बनाउन सुझाएको थियो । पामे, चंखपुर र लौरुकमा चेकड्याम बनाएर माथिबाट बगेर आएको गेग्रानलाई रोक्न सकिने सो अध्ययनको सुझाव थियो । ‘बजेट नहुँदा तालको सिरानमा ‘चेकड्याम’ बनाउन सकिएन,’ उनले भने, ‘त्यो बेला चेकड्याम बनाउन सकेको भए कम्तिमा रुखका मुढा र ठुला ढुंगा तालसम्म पुग्ने थिएनन् ।’

हर्पन खोलाका तीनठाउँमा चेकड्याम बनाएर माथिबाट बगेर आएको गेग्रानलाई सिधै तालमा मिसिन नदिने योजना रहेको उनले बताए । ‘चेकड्याममा भरिएको गेग्रानलाई निकालेर फ्याक्ने हो । चेकड्याममा पानी छानिएर मात्र बग्दा ताल पुुरिन पाउँदैन’ उनले भने, ‘अनुमानैगर्न नसकिने गरि तालको सिरान क्षेत्रमा ढुंगामाटो र रुखका मुढा वर्षेनी मिसिने गरेका छन । चेकड्याम नबनाएसम्म ताल क्षेत्र पुरिनबाट रोक्न सकिन्न ।’

वनको प्रतिवेदन कार्यन्वयन नभएकै अवस्थामा खानेपानी मन्त्रालयसँग मिलेर महानगरले पामे क्षेत्रमा सिल्टे«सन चेकड्याम बनाउने अध्ययन गरेको छ । करिब २० करोड रुपैयाँ लागतमा बनाउन लागिएको चेकड्यामले ताल पुरिने क्रम केही रोक्ने महानगरको आश छ । निर्माणका लागि महानगरले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)६ महिनाअघि नै डिपिआर तयार पारेको छ । मन्त्रालयका प्राविधिक आएर हेरेपछि चेकड्याम बनाउन प्रक्रिया अगाडी बढ्ने छ र२ वर्ष भित्र चेकड्याम बनाउन सकिन्छ ।

‘छान्ने पूर्वाधर केही पनि नभएका कारण सिरान क्षेत्रबाट बगेर आउने गेग्रान सिधै तालमा मिसिन्छ ।’ उनले भने, ‘१० वटा खहरेको पुछारमा साना आकारका चेकड्याम बनाएपनि ती प्रयाप्त छैनन् ।’ आसपासका खहरे हुँदै तल आएको गेग्रान हर्पनमा मिमिने र तालसम्म पुग्ने गरेकोले भरपर्दाे चेकड्याम हर्पन खोलामा बनाउनुपर्ने उनको भनाई छ ।

तल संरक्षणका लागि सुझाव दिन सरकारले २०६९ सालमा ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ गठन गरेको थियो । पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछाने संयोजकत्वमा आयोग बन्यो । आयोगले ताल संरक्षणका लागि अतिक्रमण र प्रदुषण रोक्नुपर्ने सुझाउँदै सरकारलाई तत्कालै प्रतिवेदन बुझायो तर प्रतिवेदन समयमा कार्यान्वन भएन जसले गर्दा ताल झन पुरिदै गयो ।

लामिछानेका अनुसार २०५८ सालमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र २०५४ सालमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले पनि फेवातालको संरक्षण ध्यान दिन आग्रह गदै सरकारलाई प्रतिवेदन वुझाएका थिए । तर,ती सबै प्रतिवेदन झोलामा थन्किए । ‘अध्ययन प्रतिवेदन कार्यान्वयन भएको भए अहिले तालले ढुंगामाटो र बढेमानका काठाका मुढाको भारी बोक्नुपर्ने थिएन । रोक्ने प्रयास कतैबाट भएन,’ लामिछानेले भने, ‘सरकार अध्ययन गर्छ तर सुझाव कार्यन्वयन गर्दैन ।’

संयोजक लामिछानेका अनुसार करिब २२ हजार रोपनी क्षेत्रफलको फेवाताल त्यो बेला नै घटेर करिब १२ हजार रोपनी कायम भएको थियो । त्यसमा पनि करिब ८ हजार रोपनी भाग मात्र पानीले ओगटेको प्रतिवेदनले औल्याएको छ । सिरानका खहरेबाट बग्दै आएर मिसिने ढुंगा, बालुबा गिट्टी रोक्न सिरान क्षेत्रमा ‘चेकड्याम’ बनाउनुपर्ने सुझाव त्यतिबेला दिएपनि कार्यान्वयन नभएको उनले बताए । ‘सबै प्रतिवेदन दराजमा थन्काईयो । फेवाताल बचाउनुपर्छ भन्ने धेरै भाषण सुनियो । तर बचाउने पहल भएन’ उनले भने, ‘त्यसले तालको आयु घटाउँदै गएको छ ।’

फेवातालको पानीको श्रोत हर्र्पनले बेलाबेला धार बदल्छ । धार परिवर्तन हुँदा माथिल्लो क्षेत्र पुरिन सहज भएको स्थानीयको भनाई छ । चंखपुर नजिकै घर भएका चुडामणि तिमिल्सेना अहिले ७५ वर्ष नाघे । उनका अनुभवमा चंखपुर फाँटमा वारपार गर्न केही वर्ष अघिसम्म डुंगा चलाईन्थ्यो । त्यही ठाउँमापछि वारिपारि गर्न डोरी टाँगेर ड्रम जोडेर डुंगा बनाएर वारपार गर्ने व्यवस्था मिलाइयो । ‘८–१० वर्षकै अन्तरमा हर्पन खोला यति छिटो पुरियो की डुंगा चल्ने ठाउँमा हिडेर वारपार गर्न सकिने भयो,’ उनले भने, ‘त्यसले पनि देखाउँछ तिव्र गतिमा फेवाताल पुरिएको छ ।’

उनका अनुसार तालमा हरेक वर्ष लेदो, ढुंगा, गिट्टी, काठका मुढा मिसिने गरेका छन् । ती सामाग्री सिधै तालमा मिसिन्छन् । ‘हर्पनको कुनै खण्डमा चेकड्याम बनाएर रोक्ने हो भने तालमा छानिएको पानी मात्र पुग्छ, ताल बचाउने अबको विकल्प चेकड्याम हो,’ तिमिल्सेना भन्छन, ‘पञ्चासे क्षेत्रमा धेरै खहरे खोला छन् । ती खहरेबाट वर्षेनी गडगडाउँदो भेल सिधै तालमा मिसिन्छ । काठ त ढिलाचाँडो कुहिएला तर ढुंगा त पिँधमा पुग्छ ।’ उनका अनुसार ताललाई तल्लो भेग (बजार क्षेत्र) भन्दा सिरान (हर्पन) बाट बढी खतरा छ । ‘सिरानबाट बगेर आउने लेदोलाई नरोक्ने हो भने तल्लो क्षेत्रमा जति सफा गरेपनि अर्थ राख्दैन । त्यसैले अब ध्यान सिरानमा दिनुपर्छ, न की पुछारमा होईन ।’

तालको पानी पानी प्रदूषित

केहीदिन अघि फेवातालको पानी परीक्षण गरियो । फेवातालमा आयोजित पौडी स्पर्धाका लागि गुणस्तर थाहा पाउन पानी परीक्षण गर्दा मलमुत्र अधिक रहेको देखियो । तालको पानी पिउन योग्य नभएको निष्कर्ष खानेपानी तथा ढल निकास विभागले निकालेको छ ।

पानी क्षारयुक्त रहेको ल्याबको रिपोर्टले जनाएको छ । पानीमा ६.५ देखि ८.५ पिएचसम्मको क्षार हुनुपर्नेमा रिपोर्टमा ८.७ पिएच भेटियो । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख किरण पौडेल भन्छन, ‘पानी पिउन योग्य छैन् ।’

पोखरा लेखनाथ महानगरपालिकाले गत वर्ष फेवातालमा मिसिने ढलको अनुगमन गर्दा सर्वसाधारणको घरको बाथरुम र भान्साबाट पानी सिधै ढलमा मिसाउने गरेको फेला पारेको थियो । अनुगमनपछि केहीलाई कार्वाही गर्ने प्रक्रिया अगाडी वढाइएपनि ढलको अवस्था अहिले पनि उस्तै छ । तत्कालिन पोखरा उपमहानगर र जापानीज सहयोग नियोग (जाईका)ले सन् २००७ मा गरेको अध्ययनले पनि फेवाको पानी निकै नै दुषित रहेको भन्दै प्रयोग गर्न योग्य नरहेको ठम्याएको थियो । ढल, नहर र फिर्के खोलाबाट फेवातालसम्म सिधै फोहर मिसिने गरेको छ । त्यसबाहेक नुहाउने, कपडा धुने, पौडी खेल्ने, गाईभैसीलाई पानी खुवाउने र नुहाईदिने कार्यले पनि प्रदुषण झन बढेको छ ।

घट्दैछ चराको संख्या

पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे ताल पुरिँदा सिमसारमा रमाउन आउने पाहुना चराको संख्या घट्दै गएको बताउँछन् । उनका अनुसार कास्कीमा ७८ प्रजातिका चरा पाइन्छन् भने ती मध्ये ४५ प्रजातिका चरा फेवातालमा पाइन्छ जुन पछिल्लो समय घट्दो छ । समाजले हरेक वर्ष जनवरीमा सिमसारमा बस्ने पानी चरा गणना गर्दै आएको छ । २००४ बाट गणना गर्दै आएको हो ।

‘त्यो बेला बसाँई सरेर आउने चरा हुन । २००४ मा हामीले ४५ प्रजातिका पानीचरा तालमा भेटेका थियौ,’ घिमिरेले भने, ‘यो वर्ष ३८ र पोहोर ४२ प्रजातिका मात्र चरा भेटिए ।’ आउने चराको संख्या पनि घट्न थालेको उनको भनाई छ । ‘कालीजुरे हाँसको एउटै हुल ३–४ सय हुन्थ्यो । घट्दै गएर अहिले ३५ वटा भेटिए । त्यस्तै सुन्जुरे हाँस पनि घटेको छ,’ उनले भने, ‘प्रजाति र संख्या सबै घट्न थालेका छन् ।’

उनका अनुसार कालिजुरे हाँस सिमसारमा भन्दा पनि पानीमा डाइभ गर्न रुचाउँछन । पुरिने क्रम बढ्दै जाँदा डाइभ गर्ने ठाउँ पाएन भने चरा आउन छाड्ने घिमिरेको अनुभव छ । उनका अनुसार हल्लनचोकदेखि खहरे क्षेत्रमा बढी चरा देखिन्थे । अहिले चराले ठाउँ परिवर्तन गरेका छन् । ‘मानवीय गतिविधि कम हुने ठाउँमा चरा देखिन्छन अन्यत्र देखिनै छाडे,’ उनले भने, ‘चरा पनि पर्यटकको आकर्षणमा पर्छन त्यसैले चरा आउन छाडे भने त्यसको असर पर्यटन क्षेत्र पर्छ ।’ अहिलेकै गतिमा चराको आगमन घट्दै जाने हो भने केहीवर्षमा तालमा चरा नै देख्न नपाइने पनि उनले बताए । घिमिरेका अनुसार साइबेरिया, मंगोलियाबाट ती चरा यहाँ आउँछन् ।

सबैको आँखा फेवाको जग्गामा
फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारलाई केही समय अघि आदेश दियो । सर्वाेच्चको निर्णय कार्यान्वयको पखाईमा पोखरेली छन् । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसी फेवाताल जोगाउन अब कम्मर कसेर लाग्नुपर्ने बताउँछन् । अब कम्तिमा ६ हजार रोपनी जग्गा फेवातालले फिर्ता पाउने मेयर जिसीको भनाई छ । अहिले ८ हजार रोपनी रहेको फेवाताल अब अतिक्रमित संरचना भत्काएर १४ हजार रोपनी पु¥याउने दायित्व अब महानगरको काँधमा आएको उनले बताए ।

२०५८ सालमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र २०५४ सालमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले समेत फेवाताल संरक्षणमा सुझाउँदै अध्ययन प्रतिवेदन सरकारलाई दिएका दिए । तर, ती सबै प्रतिवेदन कार्यन्वयन गरिएन । लामिछाने संयोजकत्वको प्रतिवेदनमा १ हजार ६ सय ९२ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको उल्लेख छ । ती मध्ये करिब ९ सय ५० जनाको व्यक्तिगत लालपुर्जा खारेज गर्न शिफारिस गरिएको थियो ।

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल करिब ४.२ वर्गकिलोमिटर मानिएको छ । यो क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन भएको छैन । पोखरा–लेखनाथ महानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले झण्डै दुइवर्ष अघि फेवातालको मापदण्ड मिचेको भन्दै केही व्यक्ति र उनीहरुले बनाएका संरचनाबारे प्रतिवेदन पनि तयार पा¥यो । महानगरको अध्ययन अनुसार २ सय १७ जनाले तालको मापदण्ड मिचेर पुर्वाधार बनाएका छन् । प्रतिवेदनका अनुसार फेवातालको मापदण्डभित्र थुप्रै अस्थायी र स्थायी संरचनाका बनेका छन् ।

ताल किनारबाट ६५ मिटरलाई पोखरा–लेखनाथ महानगरपालिकाले मापदण्ड तोकेको छ । तालको चारैतिर यो मापदण्ड लागु हुन्छ । महानगरका अनुसार अनुमतिबिना मापदण्डभित्र कुनैपनि पुर्वाधार बनाउन पाइदैन तर होटल, रेस्टुरेन्टदेखि कच्ची र पक्कि घर बनेका छन् । केहीले संरचना बनाएर आफैले होटल, रेस्टुरेन्ट चलाएका छन् भने कतिपयले भाडामा लगाएका छन् ।

तस्बिर : aviaclubnepal

Facebook Comments