Friday, April 19, 2024

नुवाकोटमा डीप बोरिङ सञ्चालन

नुवाकोट–नुवाकोटको विदुर नगरपालिकामा डीप बोरिङ सञ्चालनमा आएको छ ।

विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाई डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डीप बोरिङ सञ्चालनमा आएको हो ।

सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमीन पानीको अभावले बाँझै रहेका थिए । सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब  ८० लाखको लागतमा बोरिङ सञ्चालनमा आउने भएको हो ।

हाल आयोजनामा करीब २० लाख खर्च भइसकेको विदुर –४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । “ हाम्रो यस ४ नम्बर वडामा पानीको दुःख थियो, पिउनलाई पनि पानी अभाव नै थियो भने अब खेतीपाती लगाउनलाई त सोच्नै सकिएन । त्यस समस्यालाई नै मध्यनजर गर्दै सिंचाईका लागि केन्द्रीय बजेटमार्फत भए पनि नागरिकलाई पानीको व्यवस्थापन गर्नु पहिलो प्राथमिकतामा राखेर नै यो कामको थालनी गरेका हौँ ”, उनले भने ।

करीब दुई सय रोपनी जग्गा बाँझो रहेकामा अब आयोजनाको काम २०७६ को पहिलो चौमासिकमै सकिने उद्देश्य भएको जनाइएको छ । वडा कार्यालय–४ का अनुसार आयोजनामा पानी जम्मा गर्ने ओभरहेड ट्यांकी स्थापना, पाइप लाइन विस्तारलगायत काम रहेको बताइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार