पोथी हात्तीको सङ्गतले सुध्रियो ध्रुबे

Share on Pinterest

यस्ता छन कारणहरु

‘ध्रुबे भेटियो’, यो खबरले वर्षौदेखि कायम रहेको एउटा आशंलाई मेटिदियो । पाँच वर्ष पहिले सेनाले मार्न भनेर पैदल र हेलिकप्टरबाट समेत पिछा गरेको त्यो भाले वन हात्ती अचानक हरायो । गोली पनि लागेको हो तर लाश नभेटिएसम्म म¥यो भनी यकिन गर्न गा¥हो थियो ।

तर, त्यत्रो उत्पात मच्चाएको हात्ती वर्षौ गाउँमा नदेखिदा ज्यँुदै छ पनि कसरी भन्ने ? रहस्यमा रह्यो धुबेको अबस्था । बैशाख २ गते स्थानिय पत्रकारहरुले धुब्रे देखेसँगै लामो समयदेखिको दुविधा अन्त्य भयो । उसको जिवनमरणबारेको अन्योल सकिएको खबरले स्थानीयमा त्रास भने थपेको छ । कारण स्पष्ट छ– ध्रुबे हात्तीको आतंक सामान्य खालको थिएन ।

तीन वर्षको अन्तरालमा १५ जनाको ज्यान लिएको ‘ध्रुबे’ चितवन निकुञ्जसँग जोडिएका गाउँहरु चितवनको मेघौली, माडी र पर्साको निर्वलवस्तीका वासिन्दाको लागि मृत्युको अर्को नाम थियो । ६९ सालको कात्तिकपछि माडीमा लगातार एकपछि अर्को गर्दै एक महिनामै चारजनाको ज्यान लिएपछि ध्रुबे हात्तीको बद्नामी चितवनमा मात्रै नभएर देशभर फैलियो । मिडियामा लामो समय समाचार शीर्षक वन्यो ।

समाजमा कसैलाई नटेर्ने, निर्दयी व्यक्तिहरुले ध्रुबे हात्ती भन्ने उपमा समेत पाए । एक वर्षअघि कै कुरा हो– संसदमा तत्कालिन प्रमुख प्रतिपक्ष दलका नेताले ‘सरकार चितवनको ध्रुबे हात्ती झै भएको’ वताए । ‘ध्रुबे’ ज्युदै भएको खबर आउँदा उसको अतितले सवैलाई झस्काएको छ । आइतबार बिहान सो हात्ती जुन रुपमा भेटियो त्यसले उसको आतंक अतित मै सिमित रहने सम्भावना भने देखाएको छ । पत्रकारहरुले ध्रुबेभन्दा लगभग दुई सय मिटर वरबाट उसको फोटो खिचे । मान्छे अगाडी छन् भन्ने आभास उसलाई नभएको हैन । कुनै बेला मान्छेको चाल पायो कि आक्रमण गर्न खोज्ने सो हात्ती पाँच सातजना पत्रकारहरुले अगाडीबाट फोटो खिच्दा पनि शान्त देखियो ।

मायामा मग्न ध्रुबे

मान्छेलाई वास्ता नगर्नुको खास कारण भने थियो । किनकि उसको आडैमा थियो, पोथी हात्ती । सानो कोशिसले पाएको निकट्ता थिएन त्यो । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा हुँदै ध्रुब पोष्ट कटेपछि सुखिभार पोष्ट आउँछ । सुखिभार पोष्टमा निकुञ्जले दुईवटा हात्ती राखेको छ । एउटा पोथी तिर्थमानकली र अर्को भाले पारसगज । पोष्टका कर्मचारीहरुका अनुसार महिना दिनदेखि ध्रुबेले तिर्थमानकलीलाई पछ्याउँदै थियो ।

संयोग नै मान्नु पर्छ बैशाख एक गते नयाँ वर्षको रात भने उसले प्रेमीकासँगै बिताउँने अवसर पायो । यसका लागि उसले पोष्टभित्र छिरेर अलि अलि विध्वंस मच्चायो । तिर्थमानकलीलाई बाँधेको फलामको सिक्री चुडाउन बल लगायो । त्यो बेला प्रतिरोध गर्न खोज्ने पोष्टको अर्को भाले हात्ती पारसगजलाई चुप लगाउन ध्रुबेले ‘हल्का’ आक्रमण पनि ग¥यो । शरिरमा चोट परेपछि पारसगज चुप लाग्यो । ध्रुबेले सिक्री चुडाएर तिर्थमानकलीलाई राति नै जंगल तर्फ लग्यो ।

रातभरको प्रेमक्रिडाको प्रतिफल होला बिहानपख ध्रबे शान्त थियो । आफ्ना सामुन्ने आएका मान्छेको पनि वास्ता नराखी तिर्थमानकलीलाई सुम्सुम्याउँदै थियो । ‘पोथी भेटेपछि भाले शान्त हुन्छ’ सुखीभार पोष्टमा माहुते राजेश सिंहले भने । भालेसँग गएको पोथी एकाध दिनपछि पोष्ट फर्कनेमा उनी ढुक्क थिए । पोथीसँग केही दिन मग्न भएपछि भालेको रिसाहा स्वभाव पनि हराएर जाने उनको अनुभव छ ।

ध्रुबेले पोथी लगेपछि राजेश पोष्टको भाले चराउन बिहानै जंगल तर्फ लागे । पोथीसँग मस्त भएको भालेसँग खासै त्रस्त हुनु नपर्ने उनले बताए । ‘उसले जे खोजेको हो त्यो पाइहाल्यो । अब हामीलाई किन दुख देला र’ माहुते राजेशले भने ।

कहाली लाग्दो विगत

राजेश ढुक्क थिए तर ध्रुबेको विगतले जस्लाई पनि झस्काउँछ । १५ जनालाई मारीसकेको धु्रबेको आतंक २०६६ सालबाट सुरु भएको हो । सो वर्षको माघ २३ गते ध्रुबेको आक्रमणमा परेर पहिलो पटक मान्छेको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको अभिलेखमा उल्लेख छ । त्यसपछि २०६९ मंसिर मसान्तसम्म उसको आक्रमणबाट १५ जनाको ज्यान गएको हो । त्योबेला ध्रुबेले माडीमा लगातार एक महिनाभित्र चारजना मारेपछि उसको आतंकको चर्चा चारै तिर फैलियो ।

ध्रुबेलाई मार्न माग गर्दै चितवन बन्दसमेत गरियो । ६९ सालको पुस एक गते बसेको चितवनका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । त्यसपछि ध्रुबेलाई समाउन १८ वटा घरेलु हात्ती, ४० जना निकुञ्जका कर्मचारी, सेनाको ३२ जनाको विषेश टोली र राष्ट्रिय प्रकृति संरक्षण कोषका सातजना कर्मचारी दुई हप्तासम्म जंगलमा खटेका थिए । हात्तीलाई जे जसरी भए पनि नियन्त्रणमा लिनै पर्ने दवाव थियो । चितवन नै बलेको थियो । देश विदेशमा ध्रुबेको जति चर्चा त्यो बेला सायदै अरु विषयको थियो । तर एकाएक ६९ सालको पुस १५ देखि हात्ती सम्पर्क बिहिन भयो ।

त्योभन्दा पहिल्यै हात्तीलाई बेहोस बनाएर घाँटीमा रेडियोकलर राखिएको थियो । त्यो रेडियोकलरले हात्ती कहाँ छ भन्ने संकेत पछ्याइ रहेका सेना र प्राविधिहरुलाई दिने गर्दथ्यो । पुस १५ पछि त्यो संकेत आएन । रेडियो कलर माघ २४ मा पर्सा जिल्लाको निर्मलवस्ती नजिक जंगलमा फेला परेको थियो । हात्ती नियन्त्रणमा लिन त्यो बेला १६ लाख रुपैयाँ खर्च भएको निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलले ६९ सालको चैत्र २६ गते निकुञ्जमै राखेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । तर हात्ती म¥यो वा ज्युदै छ आधिकारिक रुपमा कसैले केही भनेका थिएनन् ।

‘लौ ध्रुबे देखियो’ भन्ने चर्चाहरु बेला बेलामा सुन्नमा नआएका हैनन् । तर बैशाख २ गते आइतबार पत्रकारहरुका अगाडी नै प्रेममा मग्न ध्रुबे फेला परेपछि निकुञ्जका अधिकारीहरुले सत्य लुकाउन चाहेनन् । निकुञ्जका हालका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले तीन चार वर्षयता नै ध्रुबे देखिएको बताए । ध्रुबे फर्केको कुरा गरे स्थानीयको विरोध बढ्ने ठानेर होला यो कुरा सार्वजनिक भएन् । प्रमुख संरक्षण अधिकृत ढकाल अहिले ध्रुबे पहिलेको जस्तै आक्रमक नभएको बताउँछन् ।

कम भएकै हो ध्रुबेको आक्रोश ?

हेलीकप्टरले पिछा गर्दा पनि नभेटेको ध्रुबे हात्तीले अब मान्छेमाथि आक्रमण गर्ला वा नगर्ला भन्ने चसो र चिन्ता छ यतिवेला । भाले हात्ती यौन क्रियाका लागि परिपक्क भएपछि उसको कञ्चट नजिक एक प्रकारको माद बढ्छ । त्यो फुटेर मुखमा परेपछि आक्रमक भएर पोथीको खोजीमा निस्कन्छ । पोथीसँग भेट भएर यौन सम्पर्क कायम भए उसको आक्रामक शैली घटेर जान्छ । आक्रामक भएका बेलाम मान्छेसँग जम्काभेट भएर र मान्छेले आक्रमण गरे प्रतिसोध राखेर जाइलाग्ने हात्तीको बानी हुन्छ । तर, पोथी हात्ती नभेटेमा उसले फेरी मान्छेलाई आक्रमण नगर्ला भन्न सकिदैन् । पछिल्लोपटक शान्त स्वरुपमा देखिएको ध्रुबेलाई सोही अवस्थामा राख्न निकुञ्जका अधिकारीहरु गम्भीर भइहाल्नु पर्ने मध्यवर्ती क्षेत्रका वासिन्दाको अधिकारको पक्षमा क्रियाशिल माडीका राजनैतिककर्मी नारदमणि पौडेलले भने ।

Facebook Comments