Wednesday, April 17, 2024

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पर्वत–पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ ।

समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन गाउँपालिकालाई सहयोग गर्ने भएको हो । आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार समाजले एकमुष्ठ रुपमा नौ लाख सहयोग गरिने अध्यक्ष  गिरीले बताए ।

पहिरो पीडितका लागि आवास बनाउन अन्तरराष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए ।

जलजला गाउँपालिकामा दुई दर्जन घरमा पूर्ण क्षति पुगेको छ । घरमा बस्नै नहुने गरी आधा दर्जन घर बगाएको छ भने अन्य घर सामान्य मर्मत र पहिरो रोकथामका लागि तार जाली लगाएमा बस्न सकिने अवस्थामा छन ।

बिस्थापितमध्ये पूर्णरुपमा क्षति भएका घर निर्माण गर्ने र मर्मत गरेर बस्न सकिने घरमा मर्मत गरिने गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । “गाउँपालिकाले ठूलो खर्च गरेर घर बनाउने भन्दा पनि बनाउनुपर्ने घरलाई मर्मत गरेर पुनःस्थापित गर्ने योजना बनाएका हौँ ।”

बाढी पहिरो पीडितका लागि लायन्स क्लब, विभिन्न सामाजिक संस्था र ब्यक्तिगतरुपमा समेत गाउँपालिकालाई सहयोग भइरहेको छ । सहयोग रकमबाट अपुग हुने रकम गाउँपालिकाले ब्यबस्था गर्ने अध्यक्ष मल्लले बताए । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार