Saturday, April 20, 2024

पत्रपत्रिकामा आज : सफाइ मजदुरबिना फोहोर व्यवस्थापन, विराटनगरमा एक महिनाभित्रै रेल

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ।

कान्तिपुर
–आजको कान्तिपुरमा सफाइ मजदुरबिना फोहोर व्यवस्थापन शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ। मकवानपुरको थाहा नगरपालिकाले सफाइ मजदुर नराखीकन नगर क्षेत्रको फोहोर व्यवस्थापन गरेको छ । स्थानीयले बजार व्यवस्थापन समिति र टोल विकास संस्था गठन गरेर गाउँ र टोलबाट निस्कने फोहोरको व्यवस्थापन गरेका हुन् ।

पुराना नगरपालिका अझै पनि सफाइ मजदुर राखेर फोहोरको व्यवस्थापन गरिरहेका छन् तर थाहा नपाले स्थानीयवासी नै परिचालन गरेर फोहोर संकलन गर्दै आएको छ । बजार व्यवस्थापन समितिले घरघरबाट निस्केको नकुहिने ९अजैविक० फोहोर संकलन गरेको छ । समितिले संकलन गरेका फोहोर नगरपालिकाको टिपरले बोकेर पुनस् वर्गीकरण केन्द्र (सेग्रिगेसन हाउस) मा ल्याउने गरेको छ । ‘प्लास्टिक, सिसा, फलाम, टिन आदि बिक्रीका निम्ति छुट्याएर राख्ने गरिन्छ,’ थाहा नपाका मेयर लवशेर विष्टले भने, ‘नगरका बस्ती र सहरलाई सफा र स्वच्छ राख्न स्थानीयवासीलाई नै परिचालन गरेका हौं ।’

फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र काठमाडौंको सहयोगमा थाहा नपा–२ को टाखेल, ४ को सिमभन्ज्याङ र ६ को बज्रवाराहीस्थित सरस्वती बजारमा सेग्रिगेसन हाउस निर्माण गरिएको छ । सिमभन्ज्याङको हाउस प्रयोगमा आइसकेको छैन, अरू दुई स्थानको हाउस प्रयोगमा आइसकेको थाहा नपाका वातावरण तथा सामाजिक शाखाका प्रमुख अनिल लामिछानेले बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै दोभानको धुवाँले प्रदूषण शिर्षकमा टीकाप्रसाद भट्टको समाचार छापिएको छ । तामाकोसीको किनारमा दैनिक धुवाँको मुस्लो निस्कन्छ । मन्थलीको फोहोर तामकोसीको किनारमा ल्याएर आगो लगाइँदा आसपासका बस्ती दुर्गन्धित हुने गरी धुवाँ फैलिने गरेको हो ।

रणजोरको दोभान तामाकोसीको किनारमा विभिन्न धार्मिक तिथिमा श्रद्धालु गंगा स्नान गर्न आउने गर्छन् । फोहोर रहेको स्थान आसपास सिसाका टुक्रा, हड्डी छरिएकाले वातावरण प्रदूषण उच्च छ । फोहोर फाल्ने गरिएको नजिकै घाटसमेत छ । मलामीहरू मृतकको अन्तिम संस्कार गरुन्जेलसम्म त्यही दुर्गन्ध सहेर बस्ने गरेका छन् ।

रणजोर खोलाको दोभानमा फोहोर फाल्दा आसपासका बासिन्दालाई वातावरणीय प्रभाव पारेको विषय बारम्बार उठाउँदा पनि स्थानीय सरकारले सुनुवाइ नगरेको स्थानीय सीताराम कार्कीले बताए । कार्कीका अनुसार फोहोरका कारण रणजोर खोला र तामाकोसी नदी किनारमा प्रदूषण मात्र भएको छैन, मलामी, किसान र गोठालाहरू हिँडडुल गर्नसमेत कठिनाइ हुँदै आएको छ ।

नगरपालिका हुनुअघि तत्कालीन मन्थली गाविसले अल्पकालीन रूपमा उक्त स्थानमा फोहोर फाल्नका लागि खाडल बनाएको थियो । रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काका अनुसार दीर्घकालीन रूपमा फोहोर फाल्नका लागि उपयुक्त स्थान छैन । ‘वातावरणीय र धार्मिक कारणले पनि रणजोर खोलाको दोभानमा फोहोर फाल्नु हुँदैन,’ खड्का भन्छन्, नगरपालिकाले तत्काल अर्को स्थानको खोजी गर्नुपर्छ ।’ वर्षायाममा फोहोर फाल्नका लागि हम्मे हुने गरेको छ । रणजोरमा बाढी आउँदा फोहोर बोकेको गाडी तामाकोसी किनारसम्म जान सक्दैन । रणजोर खोलामा बाढी सँगै आउने लेदोले भरिँदा कैयौं दिन फोहोरको गाडी दिनभर फसेको समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा कुहिएर खेर जाँदै द्रुतमार्गको काठ शिर्षकमा अशोकसुजन श्रेष्ठको समाचार छापिएको छ ।
काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणक्रममा काटिएका रुखका गोलिया कुहिन थालेपछि सम्बन्धित सामुदायिक वनका उपभोक्ताले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली सेनाले द्रुतमार्ग बनाउने क्रममा काटेका करिब ४३ हजार क्युफिट काठ हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीस्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ। तत्कालीन जिल्ला वन कार्यालय (हाल डिभिजन वन कार्यालय) ले बिक्रीका लागि अनुमति नदिँदा गत चैतमा थुपारिएका काठ कुहिन थालेको समूहकी अध्यक्ष मञ्जु पण्डितले बताइन्। द्रुतमार्ग निर्माणको जिम्मा सेनाले पाएको छ।

‘कहिले जिल्ला वनले अनुमति दिँदैन, कहिले प्रदेशले रोक्यो भन्छन्,’ पण्डितले भनिन्, ‘प्रदेशका वनमन्त्रीलाई समेत भदौमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन।’ वर्षौंदेखिको मेहनतले हुर्काएका रुखको काठ खेर जान थालेको उनले बताइन्। सरकारी पक्षबाट ५० प्रतिशत काठ भूकम्पपीडितलाई सहुलियत मूल्यमा दिनुपर्ने कुरा आएपछि सामुदायिक वन उपभोक्ता समूहले असन्तुष्टि जनाएका छन्।

काठमाडौं–निजगढ द्रुतमार्गअन्तर्गत मकवानपुरमा १० सामुदायिक वनका १४ हजार दुई सय ३५ रुख कटान गर्न नेपाली सेनाले अनुमति लिएको थियो। केही क्षेत्रमा द्रुतमार्गको ट्र्याक खोल्न आसपासको ५० मिटर क्षेत्रमा पहिल्यै रुख काटेको सेनाले पछिल्लो समय सडक विस्तारका लागि सय मिटर क्षेत्रमा पर्ने रुख काट्न तत्कालीन जिल्ला वन कार्यालय मकवानपुरबाट अनुमति लिएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा विराटनगरमा एक महिनाभित्रै रेल शिर्षकमा किशोर बुढाथोकीको समाचार छापिएको छ । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ। विराटनगर र बथनाहा अब एक महिनाभित्र रेलमार्गले जोडिने भएका छन्। नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रूपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधीन रेलमार्ग अनुगमन गरेका छन्। दुवै देशका अधिकारीले एक महिनाभित्र बथानाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने जानकारी दिए।

नेपालले जग्गा उपलब्ध गराउने र भारतले भौतिक पूर्वाधारमा लगानी गर्दै मोरङको कटहरी गाउँपालिकासम्म ब्रोडगेज रेलमार्ग बनाउन सम्झौता भएको थियो। सम्झौताअनुसार भारत सरकारले ४ अर्ब ४८ करोड लागतमा रेलमार्ग निर्माणका लागि फारवेसगन्जको इरकोण इन्टरनेसनललाई ठेक्का दिएको थियो। नेपाल सरकारसँगको सम्झौताअनुरूप भारतीय पक्षले धमाधम रेलमार्ग निर्माणको काम गरिरहेको जनाइएको छ।

सम्भव भए अक्टोबर अन्त्य र नभए नोभेम्बर पहिलो साताभित्र रेल सञ्चालन हुने गरी काम भइरहेको इरकोणले जनाएको छ। कम्पनीका महाप्रबन्धक प्रदीप कुमारले बथनाहाबाट बुधनगर भन्सार यार्डपूर्व लाबाघाटसम्म ७।६ किलोमिटर क्षेत्रमा रेलको पटरी राखिसकिएको बताए। बुधनगरबाट भन्सार यार्डसम्म रेल ल्याउने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको उनको भनाइ छ। उनका अनुसार अक्टोबर ३१ मा रेल सेवा परीक्षण गर्ने तयारी छ, नभए पनि नोभेम्बर पहिलो साताभित्र ७।६ किलोमिटरमा रेल सञ्चालनमा आउने उनको भनाइ छ।

उनका अनुसार भन्सार यार्डसम्म रेल सञ्चालनपछि कटहरीस्थित विराटनगर–रंगेली सडकखण्डसम्म रेलको पटरी राख्न थालिनेछ। नेपाल सरकारले चाँडै अधिग्रहण प्रक्रिया सकेर जग्गा उपलब्ध गराए एक वर्षभित्र बथनाहा–कटहरी रेलमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आउने उनले बताए। नेपालतर्फको जग्गा विवादका कारण काममा बाधा पुगिरहेको उनको भनाइ छ।

रेल सञ्चालनका लागि भारतको भेडियारी, नेपालका बुधनगर र कटहरीमा तीनवटा स्टेसन निर्माण गर्नुपर्नेछ। भेडियारी र बुधनगरमा स्टेसन निर्माण सकिए पनि कटहरीमा बाँकी छ। भेडियारी र बुधनगरमा १ हजार ५ सय मिटर लामो र १ सय ५० मिटर चौडाइको स्टेसन निर्माण गरिएको जनाइएको छ। कटहरीमा भने मुआब्जा विवाद रेलमार्ग र स्टेसन निर्माणमा बाधक बनेको समाचारमा उल्लेख छ।

राजधानी
–आजको राजधानीमा अन्तराष्ट्रिय विमानस्थल निजगढमै बन्नुपर्छ शिर्षकमा समाचार छापिएको छ । वनस्पति विभागका पूर्वमहानिर्देशक राजदेवप्रसाद यादवले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाउनुपर्ने बताएका छन् । कलौयामा शुक्रबार पत्रकार सम्मलेन गरी विभिन्न बहानामा अन्तर्राष्ट्रिय विमानस्थल बारामा बनाउन चलखेल भइरहेकाले त्यसप्रति सचेत रहनुपर्नेमा जोड दिएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार