Tuesday, April 23, 2024

हिउँ चितुवा बुझ्न ‘स्याटेलाइट’ जोडिँदै

काठमाडौँ – दुर्लभ जन्तु हिउँ चितुवाको बैज्ञानिक अध्ययन अनुसन्धानलाई सहज र सरल बनाउन हिउँ चितुवाको घाँटीमा ‘स्याटेलाइट रेडियो कलर’ जडान गर्ने तयारी गरिएको छ।

सो जन्तुको विचरण क्षेत्र, आहरा, वासस्थान र अन्य गतिविधी नियाल्न डोल्पा, अन्नपूर्ण र मनास्लु क्षेत्रका १२ वटा हिउँ चितुवामा स्याटेलाइट उपकरण जडान गर्ने तयारी गरिएको हो। हिउँ चितुवाले घरपालुवा जनावरलाई पुर्याइरहेको क्षति र मानववस्तीसँग जोडिएका विविध समस्या न्यूनिकरणका उपाय खोज्न समेत यो विधी उपयोगी मानिन्छ ।

यही आर्थिक वर्षभित्र डोल्पा, अन्नपूर्ण र मनास्लु क्षेत्रका १२ वटा हिउँ चितुवामा ‘स्याटेलाइट ट्याग’ गरिने वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई बताए। ‘तीनवटै क्षेत्रमा ४/४ वटा हिउँ चितुवालाई स्याटेलाइट गरिनेछ, यो कामको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्दैछ’–ती अधिकारीले भने ।

यो अभियानलाई सफल बनाउन विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने भएका छन्। स्याटेलाइट जडान गरिएका हिउँ चितुवाका गतिविधी र चहल/पहल काठमाडौं र अन्य सुगम गन्तव्यबाटै नियाल्न सकिन्छ। यसअघि यस्तो अभ्यास कञ्चनजंघा संरक्षण क्षेत्रमा भइसकेको छ। ५ वर्ष अघि सो क्षेत्रका ४ वटा हिउँ चितुवामा त्यस्तो उपकरण जडान गरेपछि सो जन्तुका विविध गतिविधी नियालिएको थियो।

रेडियो कलरले दिने सूचनाका आधारमा हिउँ चितुवासँगै अन्य जिवजन्तु संरक्षणका अल्पकालिन र दीर्घकालिन योजना बनाउन सकिने वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। विगतमा कञ्चनजंघा क्षेत्रमा सफल अभ्यास भइसकेको छ, त्यहाँको अभ्यासले धेरै कुरा सिकाएको छ, उनले भने–‘यो विधीले हिउँ चितुवासँगै अन्य दुर्लभ र लोपोन्मुख जीवजन्तु संरक्षणमा सघाउ पुर्याउनेछ।’

खड्काले प्रष्ट्याउँदै भने–‘हिउँद लगत्तै यो काम अघि बढ्छ, त्यसको आवश्यक तयारी अहिले भइरहेको छ।’ नेपालका उच्च पहाडी र हिमाली भेगका कञ्चनजंघा, मकालुवरुण, सगरमाथा, गौरीशंकर, लाङटाङ, अन्नपूर्ण, शे–फोक्सुन्डो, रारा, अपिनाम्पा जस्ता क्षेत्रमा हिउँ चितुवाको चहल–पहल पाइएको छ। नेपाल सहित विभिन्न १२ मुलुकमा यो जन्तुु भेटिएको छ। विश्वमा ६ हजार ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको हिउँ चितुवाको संख्या नेपालमा अधिकतम ५ सयका हाराहारीमा रहेको संरक्षणकर्मीहरुको अनुमान छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)ले यो जन्तुलाई ‘अति दुर्लभ’को सूचिमा सूचिकृत गरेको छ भने संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस)ले अनुसूची १मा समावेश गरेको छ। हिउँ चितुवामा स्याटेलाइट जडानको अभ्यास भइरहँदा यसको संख्या यकिन गर्न छलफल पनि भइरहेको महानिर्देशक खड्काले बताए।

सन् १९८०को दशकमा डोल्पा र मुगुमा रेडियो प्रणालीमा आधारित ट्रान्समिटर जडानगरी हिउँ चितुवाको नमूना बैज्ञानिक अध्ययन शुरु भएको वन्यजन्तुविद् प्राध्यापक करणबहादुर शाह बताउँछन्। बाघ, गैडा, हात्ति, रेडपान्डा, भालु जस्ता जन्तुलाई पनि स्याटेलाइट जडान गरी अध्ययन अनुसन्धान हुँदै आएको छ। टीका बन्धन/ नेपाल समाचारपत्र

ताजा समाचार

सम्बन्धित समाचार