हाम्रो बारे

भित्ते पत्रिकाबाट म्यागेजिन र अब म्यागेजिनबाट न्यूज पोर्टल – नेपाल वातावरण समूह (नेफेज)ले लामो यात्रा गरेको छ, वातावरण र दीगो विकासका मुद्दाबारे जनचेतना फैलाउने अभियानमा ।

नेफेजको यात्रा सुरु भएको थियो, ‘वातावरण’ नामक भित्ते पत्रिकाबाट । यो पत्रिकालाई सस्तो कागजमा छापेर काठमाडौं उपत्यकाका विभिन्न अर्धसहरी एवं दुर्गमक्षेत्रमा वितरण गरिन्थ्यो । पछि यसलाई म्यागेजिन स्वरुपमा प्रकाशन गर्न थालियो । र, त्यसको नाम जुराइयो – ‘हाकाहाकी’ । हाकाहाकीको अँगे्रजी सँस्करण पनि निकालियो – फेस टु फेस । वातावरण र दीगो विकासका मुद्दामा केन्द्रित म्यागेजिन प्रकाशन गर्नु निकै सह्रानीय प्रयास थियो । तर, आर्थिक रुपले यो निकै चुनौतिपूर्ण काम थियो । यद्यपि, वातावरण र दीगो विकासमा चासो र चिन्ता राख्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग एवं सद्भावले यी दुई म्यागेजिन प्रकाशन सम्भव भयो ।

तर, हाकाहाकी र फेस टु फेसले लामो समयसम्म सहयोग पाउन सकेन । र, अन्ततः यी दुबै प्रकाशन बन्द हुन पुगे । केही बर्षको अन्तरालपछि नेफेजले फेरि आर्थिक सहयोग जुटायो, हाकाहाकी मासिक र फेस टु फेस द्वैमासिक रुपमा प्रकाशन गर्न । बजारमा बग्रेल्ती पत्रपत्रिका भए पनि हाकाहाकी र फेस टु फेसले छुट्टै पहिचान बनायो । किनकि, वातावरण र दीगो विकासका मुद्दामै केन्द्रित अरु कुनै पत्रिका नेपालमा थिएन, अहिले पनि छैन । खासगरी नीति निर्माता र वातावरण–विकास साझेदार माझ हाकाहाकी र फेस टु फेस निकै लोकप्रिय बन्न पुगे । आम पाठकले पनि नयाँ स्वाद पाए । वातावरण र दीगो विकासका मुद्दालाई राष्ट्रिय एवं स्थानीय स्तरमा उजागर गर्नमात्र हैन, नीति निर्मातालाई जनपक्षीय निर्णयका लागि प्रभावित पार्न पनि हाकाहाकी र फेस टु फेस सफल भए ।

तर, पत्रिका प्रकाशन र वितरण दिनदिनै खर्चिलो बन्दै गएको थियो । विभिन्न दातृ संस्थाको सहयोगले पनि पुग्न छाडेको थियो । र, अन्ततः फेरि दुबै प्रकाशन बन्द भए ।

तर, वातावरण र दीगो विकासको मुद्दामा केन्द्रित भई कलम चलाउनु अहिले झनै आवश्यक भएको छ । यसैले, नेफेजले एउटा नयाँ मल्टी–मिडिया अनलाइन पोर्टल सुरु गरेको छ, जुन पूर्ण रुपमा वातावरण र दीगो विकासकै मुद्दामा केन्द्रित हुनेछ । स्वदेश र विदेशमा बसोबास गर्ने नेपालीले मात्र हैन, वातावरण र विकासका मुद्दामा चासो राख्ने जोकोहीले यही पोर्टलमार्फत् नेपाललाई प्रभाव पार्ने वातावरणीय सामग्रीहरु पाउनेछन् । नेपालमा अहिले कुनै त्यस्तो पोर्टल छैन, जहाँ वातावरण र दीगो विकासका मुद्दाबारे सम्पूर्ण सामग्री पाउन सकियोस् ।

नेफेजले आफ्ना सम्पूर्ण लेख, श्रव्य र दृश्य सामग्री यही पोर्टलमार्फत् पाठकलाई उपलब्ध गराउनेछ । नेफेजलाई झन् सशक्त संस्थामा रुपान्तरण गर्दै सञ्चार र इन्टरनेट प्रविधिको नयाँ युगमा दरिलो पाइला चाल्ने उद्देश्यअनुरुप यो निर्णय गरिएको हो ।

नेफेजले नै दक्षिण एसियामा सामुदायिक रेडियोको अवधारणा भित्र्याएको हो । रेडियो सगरमाथाको स्थापना आफैंमा एउटा सञ्चार क्रान्ति हो । नेपालीपनलाई आत्मसात् गर्ने रेडियो सगरमाथा अझै पनि नेपाली स्रोतामाझ उत्तिकै लोकप्रिय छ ।

आँखीझ्याल नेफेजको अर्को गर्विलो उत्पादन हो । यो साप्ताहिक भिडियो म्यागेजिनले १३०० अंकको कोशेढुंगा पार गरिसकेको छ । सातामा तीन पटक प्रसारण हुने समाचारजन्य भिडियो सामग्री नयाँ पुस्ता बालबालिकामाझ निकै लोकप्रिय थियो । र, पानी नामक कार्यक्रम पनि उत्पादन र प्रशारण गरेका थियाैं । यो साप्ताहिक टेलिभिजन कार्यक्रमले मध्य र सुदूर पश्चिम नेपालका कर्णाली, महाकाली र राप्ती नदी जलाधार क्षेत्रमा सक्रिय संरक्षणकर्मी र अभियन्ताहरुको जीवन, संघर्ष र योगदानमा प्रकाश पारेको थियो । नेफेजको मल्टी–मिडिया पोर्टलमा यी सबै सामग्रीहरु नियमित रुपमा उपलब्ध भएका छन् । 

यी सामग्रीहरु पढ्न, सुन्न र हेर्न www.hakahaki.org मा एक क्लिक गरे पुग्छ । यो पोर्टललाई वातावरण र दीगो विकाससँग सम्बन्धित हरेक प्रकारको सूचना उपलब्ध हुने साझा मञ्चमा रुपान्तरण गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।

यो एकीकृत अनलाइन पोर्टलले आम पाठकलाई वातावरण र विकासका मुद्दामा सचेत बनाउँदै नीति–निर्मातालाई आपसमा र जनतासँग संवाद गर्ने अवसर उपलब्ध गराउने छ । सांसद्, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, दातृ संस्था, शिक्षक, अभियन्ता र विद्यार्थी वर्गमा लक्षित यो पोर्टल जनपक्षीय वातावरण र विकास नीतिको वकालत गर्ने प्रभावकारी सञ्चार माध्यम हुने विश्वास लिइएको छ ।

सामग्रीहरु
यो मल्टी–मिडिया पोर्टलले समाचार, आलेख, अन्तर्वार्ता र फोटोकथाजस्ता नियमित सामग्रीहरु त पस्किने नै छ, नेफेजद्वारा उत्पादित विभिन्न श्रव्य–दृश्य सामग्री र हाल बन्द भएका हाकाहाकी र फेस टु फेसका सान्दर्भिक लेख–रचनालाई पनि नयाँ रुपमा पेश गर्नेछ । साथै, पानी कार्यक्रमसँग सम्बन्धित रोचक सामग्रीहरु पनि यो पोर्टलमा उपलब्ध हुनेछन् ।

वातावरण र दीगो विकासका नियमित मुद्दाहरुबारे त चर्चा गरिने नै छ, पानी कार्यक्रमअन्तर्गत उत्पादित रेडियो, टेलिभिजन र अन्य विशेष मल्टी–मिडिया सामग्रीहरु पनि यो पोर्टलमा राखिनेछ । यी विशेष सञ्चार सामग्री उत्पादन गर्न अनलाइन पोर्टल टिम र पानी कार्यक्रमअन्तर्गतको रेडियो–टेलिभिजन समूहबीच गहिरो सहकार्य भएकाे थियो । कर्णाली, महाकाली र राप्ती जलाधार क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन र जनजीविकामाथिको रोचक सामग्रीहरुमार्फत् पानी कार्यक्रमको गतिविधिमाथि प्रकाश पारिएको थियो । यी जलाधार क्षेत्र र त्यहाँको जैविक विविधता संरक्षणमा कटिवद्ध स्थानीय अग्रणी नेता र समुदायको योगदानबारे विभिन्न सामग्रीहरु तयार पारिएका छन् ।

अमेरिकी विकास सहयोग नियोगको सहयोगमा सञ्चालित पानी कार्यक्रमको सहयोगबिना यो मल्टी–मिडिया पोर्टल सुरु गर्नु सम्भव हुन्थेन । यो पोर्टल नेफेजको मात्र नभई आम पाठकको एउटा सम्पतिको रुपमा रहनेछ । यसबाट नेफेजलाई आम जनतालाई वातावरण र दीगो विकासको मुद्दामा सचेत बनाउने आफ्नो लक्ष्य पूरा गर्न पनि मद्दत पुगेको छ । तर, हाम्रो यो प्रयास सार्थक बनाउन अझै लामो यात्रा गर्नुपर्ने हुन्छ । यत्रो वृहत् मल्टी–मिडिया दीर्घकालसम्म सञ्चालन गर्नु सम्भव छैन । यसैले, हामी अन्य दाता र संस्थाको पनि सहयोगको अपेक्षा गर्दछौं ।

रेडियो र टीभी निश्चित समय र अवस्थामा मात्रै सुन्न–हेर्न मिल्छ । रेडियो–टीभीको त्यो कमजोरी यो अनलाइन पोर्टलले पूरा गर्नेछ । नेफेजद्वारा उत्पादित रेडियो–टीभी कार्यक्रमलाई थप स्रोता–दर्शकमाझ पु-याउन यो पोर्टल निकै प्रभावकारी हुनेछ । स्रोता–दर्शकले जुनसुकै समयमा पनि यो पोर्टलमा प्रवेश गरी नेफेजको रेडियो–टीभी सामग्री सुन्न–हेर्न सक्नेछन् ।

यो अनलाइन पोर्टललाई सही अर्थमा मल्टी–मिडिया पोर्टल बनाउने लक्ष्य हाम्रो छ । यो नेफेजद्वारा उत्पादित सञ्चार सामग्री पढ्न, सुन्न र हेर्न मिल्ने एक–द्वार प्रणाली त हुने नै छ, विभिन्न देशमा छरिएर बसेका लाखौं नेपालीका लागि पनि नेपाललाई प्रभाव पार्ने वातावरण र विकासका मुद्दा पढ्ने–बुझ्ने भरपर्दो स्रोत हुनेछ । पोर्टलको सुरुवात हुनुभन्दा धेरै अघिदेखि नै लाखौं पाठक, स्रोता र दर्शकले नेफेजको सामग्री पढ्दै, सुन्दै र हेर्दै आएका छन् । यो पोर्टलले झन् धेरै पाठकको पहुँच नेफेजद्वारा उत्पादित सामग्रीमा पु-याउनेछ ।

उदाहरणका लागि, हाम्रो साप्ताहिक भिडियो म्यागेजिन आँखीझ्याल एभेन्यूज, प्राइमलगायत मुलुकका १४ टेलिभिजन च्यानलमार्फत् प्रशारण हुन्छ । वातावरण र विकासका मुद्दामा केन्द्रित भिडियो म्यागेजिनहरु नेपालमा खासै छैनन् । यसैले पनि आँखीझ्याल निकै लोकप्रिय छ । आँखीझ्यालले एक वर्षअघि मात्रै १३०० अंक पार ग-यो, जुन नेपालमात्र नभई विश्वकै लागि एक कीर्तिमान हुनसक्छ ।

सन् १९९७ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै अग्रणी सामुदायिक रेडियो हो । रेडियो सगरमाथाले देखाएकै बाटोमा हिँडेर धेरै सामुदायिक रेडियोहरु नेपालमा खुलेका छन् । काठमाडौं उपत्यकाभित्र र छेउछाउका जिल्लाका स्रोताहरुमाझ रेडियो सगरमाथा निकै लोकप्रिय छ । उनीहरुले आफ्नो प्रिय रेडियो स्टेशनमार्फत् विभिन्न समसामयिक गतिविधिका साथसाथै वातावरण र विकासका मुद्दाहरुबारे जानकारी पाउने गरेका छन् ।

यी माथिका सबै लोकप्रिय रेडियो–टीभी कार्यक्रमहरु अब नेफेजको एकीकृत मल्टी–मिडिया पोर्टलमा उपलब्ध हुनेछन् । विभिन्न माध्यममा छरिएका रहेका सामग्रीलाई एकै ठाउँमा ल्याउँदा र पाठकले एक क्लिकमार्फत् ती सबै सामग्री पढ्न, सुन्न र हेर्न पाउँदा हाम्रो सन्देश झन् प्रभावकारी तवरले बाहिर जानेछ । यसैले, हामी यसलाई देशकै अग्रणी मल्टी–मिडिया पोर्टलको रुपमा विकास गर्न कटिबद्ध छौं ।

हाम्रो ट्याग लाइन हुनेछ – पढ्नूहोस्, सुन्नूहोस् र हेर्नूहोस् ! आफ्नो इन्द्रियलाई जगाउनूहोस् !

हाम्रो समूहः

अध्यक्षः रोशनी अधिकारी
उपाध्यक्षः टिका बन्धन
महासचिवः सविन शर्मा
सचिवः सृष्टी काफ्ले
कोषाध्यक्षः सोमनाथ लामिछाने
सदस्यः अभयराज जोशी, सुजता कार्की
विज्ञ सदस्यः शैलेन्द्र पोखरेल, डा. यमुना घले